काभ्रेमा टिपर चल्न ड्युटीमा खटिएका प्रहरीको मर्जीमा भर पर्न थालेको छ । कोरोना भाईरसको कारण अहिले टिपर गुड्ने समय जिल्ला प्रशासन कार्यालयले निर्धारण गर्ने गरेको छ ।
तर प्रशासनको आदेश भन्दा पनि ड्यूटीमा खटिएका प्रहरी नै हाबी हुने गरेका छन् । भदौ १५ गते प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पछिल्लो पटक आदेश जारी गर्नुभएको थियो । यो आदेश २५ गतेसम्मका लागि जारी गरिएको हो ।
तर प्रहरीले प्रमुख जिल्ला अधिकारीको आदेशलाई समेत चुनौती दिँदै आएको छ । अरनिको र बीपी राजमार्गमा गुड्ने टिपरमा प्रहरीले रामराज्य चलाइरहेको छ । आदेश कार्यान्वयन गराउने पक्षले नै नमानेपछि अवस्था के होला । तपाई धेरै जना राजमार्गको भुक्तभोगी हुनुहुन्छ ।
प्रमुख जिल्ला अधिकारी पोखरेलले जारी गरेको आदेशको ३ नम्बर बुँदाको सार्वजनिक एवं निजी सवारी साधन सञ्चालन सम्बन्ध अन्तर्गतको ३.२ बुँदामा प्रष्ट लेखिएको छ ‘विकास निर्माणका लागि सामग्री ढुवानी गर्ने सवारी साधनहरू स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी जिल्लाभित्र खपत हुने सामग्रीको हकमा साँझ ७ बजेपछि बिहान ६ बजेसम्म र जिल्ला बाहिर लैजानेको हकमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न सक्ने ।’
तर धुलिखेलबाट प्रहरीले प्रमुख जिल्ला अधिकारीको आदेश विपरित आफु खुशी टिपर छाड्ने गरेको छ । कहिले साँझ साढे ५ बजे नै, कहिले ६ बजे, कहिले साढे ७ बजेसम्म पनि टिपर रोकेर धुलिखेलमा ट्राफिक अस्तब्यस्त गर्ने गरेको छ । उसै पनि साँझ धुलिखेलमा पूर्वी पहाडी र भित्री मधेशका जिल्लाबाट आउने सवारी संख्या ह्वात्तै बढ्छ । त्यस माथि राजमार्गमा टिपर रोकेर राख्दा अवस्था के होला ?
राजमार्गमा गुड्ने टिपरका लागि प्रमुख जिल्ला अधिकारीको आदेश भन्दा पनि ड्युटीमा रहेका प्रहरीको मनको आदेश हाबी भएको प्रष्टै हुन्छ । नपत्याए कहिले काहिँ आफैले जारी गरेको आदेश कत्तिको कार्यान्वयन भएको छ भनेर अनुगमन गर्नुस् है प्रमुख जिल्ला अधिकारी ज्यू ।
Facebook Comments