दुईदिन अघि काभ्रे एमालेलाई तथानाम गालीको भन्दै तीब्र आलोचना खेप्दै आउनुभएका बागमती प्रदेशका सांसद बसुन्धरा हुमागाईले कमिकमजोरि भए माफी दिन जनता समक्ष आग्रह गर्नुभएको छ ।
आज सामाजिक सञ्जाल फेसबुक मार्फत सांसद हुमागाईले आफु लामो समयदेखि एमालेमा रहेको र अब भने नयाँ पार्टीमा रहने बताउनुभयो । सांसद हुमागाईंले यो ठाउँमा पुर्याउन योगदान गर्नु हुने सबैलाई धन्यवाद समेत दिनुभएको छ ।
सांसद हुमागाईले लेख्नु भएको छ: म नेकपा एमालेको सिपाही भएर ४७ साल देखि काम गर्दै आएको थिए । कमरेड केपी ओली गरेको अपराधलाई समर्थन गर्न नसक्नु मेरो गल्ती थियो होला । मेरो बारेमा मलाइ यो ठाउँमा पुर्याउन योगदान गर्नु हुने सबैलाई धन्यवाद छ ।
मैले जीवनमा जिम्मेवारीमा रहँदा देश र जनताको पक्षमा काम गर्दा कुनै गल्ती गरेको भए न्यायिक जनताको अदालतमा उभिन तयार छु । बाँकी जीवन सत्य र न्यायको पक्ष लाग्छु । मैले साँचो र सत्य बोले बापतको सजाय भोग्न तयार छु । बाँकी जीवन कमरेड माधब नेपाल र झलनाथ खनालले बनाउनु भएको पार्टीमा बिताउने छु ।
कम्युनिस्ट एकताको बिपक्षमा कहिल्यै नहुने प्रतिज्ञा गर्दछु । म कम्युनिस्ट पार्टीमा १२ बर्ष उमेर देखि आबद्ध छु । बाँकी जीवन कम्युनिस्ट आन्दोलन र जनताको समृद्धिका लागि बिताउने छु । मैले जीवनमा कुनै कमिकमजोरि गरेको भए माफी अयोग्य सजाय दिन आम जनसमुदायलाई र न्यायीक अदालतमा अपिल गर्दछु ।’
दुईदिन अघि सांसद हुमागाईले ‘नेकपा एमालेको नाम र सुर्य चिन्हको दुवाइ दिएर लुट्न पल्केका मात्र एमालेमा हुने छ्न् बाँकी नेकपा एकीकृत समाजबादी पार्टीमा हुनेछ्न् ।’ भन्ने अभिव्यक्ति दिनुभएको थियो । त्यस लगत्तै एमाले नेता कार्यकर्ताहरू आक्रोशित बनेका थिए ।
सांसद हुमागाई सूर्य चिन्ह र एमाले पार्टीबाटै २०७४ सालमा भएको निर्वाचनमा काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको प्रदेश निर्वाचन क्षेत्र (२) बाट निर्वाचित हुनुभएको थियो । अहिले भने प्रदेश निर्वाचन क्षेत्र १ र २ का सांसद हुमागाई र लक्ष्मण लम्साल नेकपा (एकीकृत समाजवादी) पार्टीमा जानु भएको छ ।
एमाले काभ्रेको हिजो बनेपामा भएको बृहत कार्यकर्ता भेलामा बोल्ने अधिकांश बक्ताहरूले पनि सांसद हुमागाईको अभिब्यक्तिको तीब्र आलोचना गरेका थिए । कतिपय नेताहरूले पुष्टि गरेर देखाउन चुनौती समेत दिएका थिए ।
Facebook Comments