काभ्रे संघीय निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्र नम्बर (ख) का सांसद चन्द्र लामाले अनुदानलाई सहि सदुपयोग गर्न किसानलाई आग्रह गर्नुभएको छ । आज धुलिखेल नगरपालिका वडा नम्बर १२ का किसानलाई अनुदानमा कृषि औजार वितरण गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
बागमती प्रदेश कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि ज्ञान केन्द्र काभ्रे मार्फत ५०% अनुदानमा प्राप्त कृषि उपकरण हस्तान्तरण गर्दै सांसद लामाले अनुदानमा दिएको सामान त हो भनेर जथाभावी नगर्न सुझाव दिनुभयो । ‘यो तपाईहरूसंगै लिएको करको रकमबाट किनिएको सामान हो । राम्रो ख्याल गर्नु । दुरूपयोग नगर्नु । यी यन्त्रले तपाईको खेतीपाती गर्न सघाउँछ । चलाउन जान्नु भएको छैन भने बरू सिक्नुहोस् । तर दुरूपयोग नगर्नुस्, सासंद लामाले भन्नुभयो ।’
शंखुमा रहेको गौरीशंकर साना किसान कृषि सहकारी संस्थाले आफ्नो सहकारीभा आबद्ध भएका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण हस्तान्तरण गरिएको हो । ११ वटा हाते ट्रयाक्टर, ६ वटा पिठो पिस्ने मिल, १ वटा कुट्न र पिठो पिस्ने मिल, स्प्रे पम्प २० वटा र ७ थान प्लास्टिक टनेल ५० प्रतिशतमा हस्तान्तरण गरिएको हो । ५ वटा मकै छोडाउने मेसिन भने नि:शुल्क वितरण गरिएको सहकारीका अध्यक्ष सिताराम भट्टराईले बताउनुभयो ।
Facebook Comments