बाढी र पहिरोको उच्च जोखिममा रहेको सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा भौगर्भिक अध्ययन सुरु भएको छ । पालिकामा हिजोदेखि भौगर्भिक अध्ययन सुरु भएको हो ।
जियोलोजिस्ट, जियोटेक, सिभिल ईन्जिनियरको अध्ययन टोलीले वडा नम्बर २ को कोप्लाङ, कोदारी, गुरु रिन्पोचे, तातोपानी बजार र वडा नम्बर ३ को फुमाचे र लार्चाबाट भौगर्भिक अध्ययन सुरू गरेको गाउँपालिकाले जनाएको छ ।
भोटेकोशी गाउँपालिका, राष्ट्रिय विपद जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र प्रतिबद्ध परियोजनाको समन्वयमा गाउँपालिकाभित्रका सबै वडाका सम्भावित जोखिमयुक्त स्थानहरु र पालिकाका अति संवेदनशील बस्तीहरुमा अध्ययन गरिनेछ ।
भदौ ५ गतेसम्म भौगर्भिक अध्ययन भैसक्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आफ्नो घरगाउँमा आईपुग्ने अध्ययन टोलीलाई सहयोग गरिदिन समेत आग्रह गरेको छ ।
यसअघि बाह्रबिसे नगरपालिकामा पनि भौगर्भिक अध्ययन गरिरहेको थियो । अध्ययन टोलीले संकलन गरेको विवरण माथि विज्ञ समूहले थप छलफल गरेर अन्तिम प्रतिवेदन तयार गर्ने छ ।
Facebook Comments