काभ्रेको मण्डनदेउपुर नगरपालिकाका नगरप्रमुख टोक बहादुर वाईबा स्कुले बालबालिकाको गुनासो सुन्न महाकाली माध्यामिक विद्यालय पुग्नुभएको छ । जिल्लाको १३ वटा स्थानीय तह मध्य शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण काम काम गर्नु भएका नगरप्रमुख वाईबा बालबालिकाको गुनासो सुन्न विद्यालयमै पुग्नु भएको प्रधानाध्यापक शिवकुमार पौडेलले जानकारी दिनुभयो ।
नगरप्रमुख वाईबा आज वडा नम्बर ३ का वडाध्यक्ष दिलबहादुर तामाङ, समाजसेवी शक्तिसिं तामाङ र नगरपालिकाका प्राबिधिक टोली लिएर महाकाली माध्यामिक विद्यालय पुग्नुभएको हो ।
नगरप्रमुख वाईबाले विद्यालयको कक्षाकाेठा ब्यबस्थापन, सूचना प्रबिधियुक्त संरचना र विद्यार्थीको पढाइ अबलाेकन गर्नु भएको प्रधानाध्यापक पौडेलले बताउनुभयो । नगरप्रमुख वाईबा विद्यालयको ब्यवस्थापकिय पक्ष र जिज्ञासु स्वभावका बालबालिका देखेर खुशी हुनुभएको थियो ।
विद्यालयको हाताभित्र निर्माण गरिएको बाल बगैँचा रूची पूर्वक अवलोकन गर्नुभएको थियो । नमूना माध्यमिक विद्यालय बनाउने नगरको योजना अनुरूप नै विद्यालय अघि बढेको भन्दै थप मजबुद बनाउन चाहिँने सहयोग गर्न नगरपालिका सधैं तयार रहेको नगरप्रमुख वाईबाले बताउनुभयो ।
नगरप्रमुख वाईबाले समाज रूपान्तरणको मुख्य आधार नै शिक्षा भएकाले गुणस्तरीय शिक्षामा जोड दिनुभयो । ‘दिगो विकासको स्रोत नै शिक्षा हो, नगरपालिका विद्यालय उमेर समूहका कोहि पनि बालबालिका पढाईबाट बञ्चित नहुन भन्ने उद्देश्यका साथ काम गरिरहेको छ, यसमा सबैको सहयोग अपरिहार्य छ, नगरप्रमुख वाईबाले भन्नुभयो ।’
नगरप्रमुख आफै आएर विद्यालयको समग्र पक्षको अवलोकन गर्दा शिक्षक, विद्यार्थी र ब्यवस्थापन समितिलाई हौसला मिल्ने प्रधानाध्यापक पौडेलले बताउनुभयो । ‘यसरी विद्यालयमा नगरप्रमुख आफै आएर आवश्यक पृष्ठपोषण दिँदा हामीलाई पनि हौसला मिल्छ, यसले विद्यालयलाई आवश्यकता अनुसार समयानुकुल बनाउन सहयोग हुन्छ, प्रधानाध्यापक पौडेलले भन्नुभयो ।’
Facebook Comments