काभ्रेको मण्डनदेउपुर नगरपालिकामा निर्माण हुने ‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ को स्थगलत अवलोकन गरिएको छ । नगरपालिका, संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना भक्तपुर, उपभोक्ता समिति, आयोजनाका कन्सल्ट्यान्ट, र निर्माण कम्पनीका प्रतिनिधिले संयुक्त रूपमा आयोजना निर्माणको स्थल अवलोकन गरेका हुन् ।
अवलोकन टोलीमा नगरप्रमुख टोक बहादुर वाईबा, संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठ, मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष राम बहादुर, सचिव गणेश पराजुली सहितका पदाधिकारी, आयोजनाका कन्सल्ट्यान्ट ईन्जिनियर पारस तिमिल्सिना र निर्मल देवकोटा, आयोजना निर्माण कम्पनी ‘शर्मा-लामा-रमण जेबीका फोकल पर्सन पवन महत्तो सहभागी हुनुभएको थियो ।
अवलोकन टोलीले ‘मण्डनदेउपुर बृहत सुख्खा क्षेत्र खानेपानी आयोजना’ को मुख्य ट्याङ्की निर्माण हुने स्थान नगरपालिकाको वडा नम्बर १० को थामडाँडा पुगेको निर्माण स्थल हेरेको थियो । त्यसैगरी टोलीले पानीको मुहान वडा नम्बर १० को नारिमखर्क र वडा नम्बर ७ को सोतेको अवलोकन गरेको थियो ।
वडा नम्बर १० को नारिमखर्क स्थित इन्द्रावती नदीको किनारबाट पानी लिफ्ट गरेर थामडाँडाको मुख्य ट्याङ्कीमा खसालिनेछ । यो आयोजना अन्तर्गत ३० वटा ट्याङ्की निर्माण हुने संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना भक्तपुरका प्रमुख राजेन्द्र श्रेष्ठले मिलिजुली खबरलाई बताउनुभयो ।
यो आयोजनाबाट मण्डनदेउपुर नगरपालिकाको ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का ५ हजार ५ सय ५ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष राम बहादुर तामाङले जानकारी दिनुभयो । यो आयोजनाका लागि ५४ करोडको ठेक्का सम्झौता भैसकेको र तीन बर्षभित्र निर्माण भैसक्ने आयोजनाका प्रमुख श्रेष्ठले बताउनुभयो ।
कन्सल्ट्यान्ट ईन्जिनियर पारस तिमिल्सिना र निर्मल देवकोटाले निर्माणको जिम्मा पाएको ‘शर्मा-लामा-रमण जेबी’ लाई निर्माण हुने ट्याङ्की, पाईप, प्रशोधन केन्द्र, मुहान, आयोजनाको सबल र दुर्बल पक्षका विषयमा ब्रिफिङ गर्नु भएको थियो ।
नगरप्रमुख टोक बहादुर वाईबाले आयोजना निर्धारित समयमै सकाउन निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । ‘यो वा त्यो बहानामा काम रोक्न पाइँदैन, यो हाम्रो नगरबासीको प्रत्यक्ष जीवनसंग जोडिएको योजना हो, हामी सबै हिसाबले सहयोग गर्न तयार छौँ, तर समय घर्काउने काम नहोस्, हामी तपाईहरूसंगै हुन्छौँ, गुणस्तरीय काम होस्, नगरप्रमुख वाईबाले भन्नुभयो ।’
‘शर्मा-लामा-रमण जेबी’ का फोकल पर्सन पवन महतोले आयोजनाको काम निर्धारित समयमै सकाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले सबै काम उपभोक्ता समिति र नगरपालिकासंग नै समन्वय गरेर गर्ने बताउनुभयो । ‘हामीले आयोजनाको काम सुरू गरिसकेका छौं, कुनै समस्या आई हाल्यो भने सबैको सहमति र समन्वयमै समाधान गरेर काम अघि बढाउने छौँ, महतोले भन्नुभयो ।’
Facebook Comments