काभ्रेको सबैभन्दा कान्छो नगरपालिका मण्डनदेउपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नीति बजेट तथा कार्यक्रम ल्याएको छ । हिजो नगर सभामा नगरप्रमुख टोक बहादुर वाईबाले प्रस्तुत गर्नुभएको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मत पारित पनि भएको छ ।
‘देउपुर र मण्डन, कृषि र पर्यटन’ भन्ने आफ्नो मूल नारालाई आत्मसात गर्दै खुशी, समृद्ध र सफल नगरपालिका निर्माणका लागि सहभागितामुलक योजना तर्जुमा गरेर ल्याइएको नीति कार्यक्रम तथा बजेट नगरसभा मार्फत पारित भएको हो ।
नगरपालिकाले आर्थिक विकासका लागि कृषि र पर्यटनलाई मुख्य प्राथमिकता दिएको छ । कृषि र पर्यटनतर्फ ७/७ वटा योजना छन्, जुन स्थानीयसँग प्रत्यक्ष सम्बन्धित छन् ।
नगरपालिकाले कृषिलाई उत्पादनशील बनाउँदै लैजाने र औद्योगिकरण मार्फत रोजगारीको सिर्जना गरी आय आर्जनको विश्वासिलो माध्यमको रुपमा विकास गर्ने नीति लिएको छ । कृषि क्षेत्रमा नविनतम प्रविधिको प्रयोगका साथै आधुनिकीकरण, व्यवसायीकरण र विविधिकरण मार्फत प्रतिस्पर्धात्मक बनाई मर्यादित पेशाको रुपमा स्थापित गराउने नीति नगरपालिकाले अवलम्बन गरेको छ ।
कृषिमा उत्पादन तथा उत्पादकत्व वृद्धि गरी कृषि पेशामा आवद्ध किसानहरूको आर्जनका लागि पकेट क्षेत्रका आधारमा बेमौसमी तरकारी खेतीलाई प्रोत्साहन गर्ने नगरप्रमुख वाइबाले बताउनुभयो । त्यस्तै कृषि उत्पादनका लागि आवश्यक सिंचाई पूर्वाधारको समेत विकास गरिने कार्यक्रम तयार भएको छ ।
कृषि क्षेत्रका लागि अत्यावश्यक मलखाद, बिषादी, चुन, तरकारी अन्नबाली तथा फलफूल बीउ बेर्नाको व्यवस्था गर्ने नीतिलाई नगरपालिकाले आगामी आर्थिक वर्ष पनि निरन्तरता दिएको छ ।
नगरपालिकाले कृषि उपचार संकलन तथा बजार केन्द्र र कोल्ड स्टोर निर्माण गर्ने जनाएको छ । साथै आवश्यकता अनुसार माटो परीक्षणका लागि माटो परीक्षण शिविर तथा बालीमा लाग्ने सम्भाव्य रोगहरूको परीक्षणका लागि रोग परीक्षण ल्याबको व्यवस्थापन गर्ने व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कृषिमा आई पर्ने जोखिम न्यूनीकरण गरी किसानलाई राहत प्रदान गर्न र कृषि बालीमा पर्न सक्ने सम्भाव्य क्ष’तिको न्यूनीकरणका लागि कृषि बाली बिमाको कार्यक्रमलाई निरन्तरता दिने नगरप्रमुख वाईबाले बताउनुभयो ।
कृषि पेशालाई परम्परागत र जीवन निर्वाहमुखीबाट व्यवसायीकरण तर्फ उन्मुख गर्न नगरपालिका क्षेत्रभित्र ५०/५० प्रतिशत लागत साझेदारीमा ‘नगरप्रमुख कृषि नवप्रवर्तनकारी कार्यक्रम’ सञ्चालन गरिने कार्यक्रम तय गरिएको छ ।
नगरपालिका क्षेत्रभित्रका किसानहरूको पहिचान, वर्गीकरण, तथ्यांक व्यवस्थापन गर्न नीतिगत व्यवस्था गरी बजेट समेत व्यवस्थापन गरिएको छ ।
पर्यटन तर्फ नगरक्षेत्र भित्र पहिचान भएका पर्यटकीय गन्तव्यहरुमा निर्माण भएका पर्यटकीय पूर्वाधारको मर्मत तथा सम्भारलाई निरन्तरता दिने जनाएको छ ।
नगरक्षेत्र भित्र रहेका विभिन्न जातजाति, भाषाभाषी, सांस्कृतिक समुदायको जातीय, भाषिक तथा धार्मिक सांस्कृतिक सम्पदाहरूको पहिचान गरी प्रवर्द्धन गर्ने नीति नगरपालिकाले अंगीकार गरेको छ ।
नगरपालिकाले पर्यटकीय सम्भाव्यतालाई उजागर गर्न तथा पर्यटन प्रवर्द्धन गर्न मुख्य मुख्य पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि नगर भित्रको नगरकोट, ठुलीचौर, थामीडाँडा, बुद्ध पार्क लगायतका प्रमुख पर्यटकीय गन्तव्यहरुको पुर्वधार विकास गर्ने नीति नगरपालिकाले लिएको छ ।
नगरकोटमा क्रमागत रुपमा निर्माण भएको खोराङ्ग उन्काई पदमार्गलाई व्यवस्थित गरी पर्यटन प्रवर्द्धनका लागि नगरक्षेत्रभित्र थप पर्यटकीय पदमार्गहरु निर्माण गर्ने, ठूलोचौर तथा थामीडाँडामा निर्माणाधीन भ्यू टावर निर्माणको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने नगर प्रमुख वाइबाले बताउनुभयो ।
आगामी आर्थिक वर्षमा नगरकोट क्षेत्रमा पर्यटकलाई थप आकर्षित गर्न ‘हिमालय साइक्लिङ रूट’ निर्माण कार्य अघि बढाउने नीति तथा कार्यक्रममा भनिएको छ ।
नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको नगरकोट क्षेत्रलाई ‘नगरकोट: किङ्ग अफ हिल्स’ नामबाट परिचित गराउन पर्यटकीय पूर्वाधारको विस्तार तथा प्रचारप्रसार गर्ने र आगामी आर्थिक वर्ष नगरकोट क्षेत्रमा ‘नगरकोट बृहत् इको पर्यटन पार्क’ निर्माण गरिने नगरप्रमुख वाइबाले बताउनुभयो ।
Facebook Comments