लाफा रूङ फाउण्डेशनले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका वडा नम्बर ६ चिउरीखर्क बेसीका बाढी पीडीतलाई सहयोग हस्तान्तरण गरेको छ । फाउण्डेशनले विपद् राहत कोषका लागि आर्थिक सहायोग संकलन गरी पहिलो पटक राहत सहयोग गरेको हो ।
नेपाल मगर संघ सिन्धुपाल्चोकका सदस्य तथा नेपाल मगर संघ हेलम्बु गाउँपालिकाका अध्यक्ष बलबहादुर थापा मगर, स्थानीय समाजसेवी अर्जुन कुमार भण्डारी, राजु थापा मगरलाई फाउण्डेशनका अध्यक्ष चन्द्रज्योती आले मगरको टोलीले सहयोग हस्तान्तरण गरेको हो ।
भुकम्पले स्थानान्तर गरेको बस्ती नै बगरमा परिणत
बाढीका कारण हेलम्बु गाउँपालिका वडा नं. ६ चिउरीखर्क बेसीका मगर बस्तिका १८ घर बगाएका छन् । बस्ति बगाएर बगरमा परिणत गरेको छ । यस भन्दा पहिला उनीहरू चिउरीखर्कमा बस्दै आएका थिए ।
२०७२ सालको बिनासकारी भूकम्पले जमिन ध्वाजा फाटेपछि यो बस्ति नै चिउरीखर्क बेसीमा स्थानान्तर गरिएको थियो । स्थानान्तर गरेको बस्ति पनि बाढीले बगाएको हो । अहिले उनीहरू चिउरीखर्क माथीको विद्यालयमा आश्रय लिईरहेका छन् ।
फाउण्डेशनले उक्त बस्तिका बाढी पिडितहरूलाई लक्षित गर्दै २५ बण्डल जस्ता, ६० थान ब्लाङ्केट र म्याट्रिस हस्तान्तरण गरेको अध्यक्ष आले मगरले जानकारी दिनुभयो । बाढी पीडितहरूमा पनि अतिनै आबश्यकता भएकाहरूलाई लक्षित गर्दै उक्त सामग्री हस्तान्तरण गरेको उहाँको भनाई छ ।
‘हामीले यस स्थानका बाढी पीडितहरूलाई केही हदसम्म भएपनि मलम बन्न सक्छ भन्ने हेतुले राहत वितरण गरेको हो । यस्तो दर्दानक अवस्था हेरेर कोही बस्न सक्दैनौ। एउटा नेपालीले अर्काे नेपालीलाई दुःख पर्दा सहयोग गर्नु पर्दछ । अनि मात्र नेपाली भएको सार्थकता हुन्छ । त्यही सोचेर हामीले सहयोग गरेका हौँ, अध्यक्ष आलेमगरले भन्नुभयो ।’
यस सहयोगले आफुहरूलाई धेरै नै टेवा पुग्ने नेपाल मगर संघ सिन्धुपाल्चोकका सदस्य बलराम थापा मगरले बताउनुभयो । थापाले यस्तो बिषम परिस्थिती, खराब मौसम र भौगोलिक विकटताका बावजुत पनि सहयोग सामग्री लिएर आएको भन्दै खुसी हुँदै धन्यवाद व्यक्त गर्नुभयो ।
थापाले सामग्रीहरूलाई सहि ठाउँमा सहि तरिकाले सदुपयोग गर्ने र वास्तविक पीडितलाई आहात पुग्ने गरी वितरण गर्ने पनि प्रतिबद्धता प्रकट गर्नुभयो ।
राहत हस्तान्तरण कार्यक्रममा बागमती प्रदेश सांसद मीना ज्ञवाली, नेपाल मगर संघका केन्द्रिय सचिव रक्षा बहादुर रैका मगर, लाफा होलिडेज् प्रा. लि.का जीबन थापा मगर, सुशीला थापा मगर, नेपाल मगर संघ बागमति प्रदेशका अध्यक्ष राज कुमार थापा मगर, नेपाल मगर सांस्कृतिक संघ केन्द्रिय समिति निर आले मगर र काभ्रेका युवा विकास लामीछाने मगरको सहभागी रहेका थिए ।
Facebook Comments