सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा तत्कालिन सात गाउँ पञ्चायतभित्र कतै पनि स्वास्थ्यकर्मी र स्वास्थ्य सामग्री नपाइने बेला नेपाल परिवार नियोजन संघको आग्रहमा मेरा हजुरबुबाले जग्गा दिएपछि २०३७ सालमा हस्पिटल बन्यो ।
त्यसपछि हाम्रो निजी घर बन्यो । त्यही बाटो भएर हेलम्बु र आसपासका गाउँहरु ओहोरदोहोर गर्ने ठाउँ भएकोले ब्यापारीहरुको आकर्षण बढ्यो । एक पछि अर्काे गर्दै पहिले एक लहरमा बनेका घरहरु पछि दुई तर्फी हुँदै करीब ५० घरसहितको शुन्दर बस्ती बन्यो । राम्रो ब्यापारिक कारोबारको केन्द्र थियो मेरो चनौटे बजार ।
२०७२ सालको बिनासकारी भुकम्पले सबै घर तहसनहस बनायो । ६ बर्षको दौरानमा भुकम्पले भत्किएका सम्पूर्ण संरचना पुननिर्माण गरि सकेपछि असार १ गते आएको महाविनासकारी बाढीले मेरो शुन्दर बजार तहसनहस मात्र भएन, मेलम्ची क्षेत्रका धेरै मोटरपुल र झोलुङ्गे पुलहरु बगाएको छ ।
हेलम्बुको शान ट्राउट माछापालनको नामोनिशान मेटिएको छ । हजारौ रोपनि खेतियोग्य जमीन बगाएको छ । गाइ, भैंसी, बाख्रा, कुखुरा पालक किसानहरुको भाग्य लुटिएको छ । त्यो भन्दा पनि बढि मेरी प्राण प्यारी मैया दिदी, एउटै मुटु जस्तो भएर बसेको मेरो हरपलको साथी ज्ञानेन्द्र कक्षपति, प्रिय भाइहरु माधब भण्डारी, गणेश ज्योतिलगायत २६ जना बेपत्ता हुनुहुन्छ ।
यत्रो दिन बेपत्ता हुँदा मन त अमिलो भएकै छ तर यसो टुप्लुक्क आएर कोट्याइदिए म कति खुशि हुन्थे होला । हामी सबै प्यारले बोलाउने सानु दाइको ट्राउट फर्ममा कत्रो लगाव थियो ? बिहान ६ बजे उठेर फर्म पुग्ने । ११,१२ बजे खाना खान आउने अनि फेरि एक घण्टामै फर्म पुग्ने र दिनभरि काम गरेर घर फर्कने उनको दैनिकी थियो ।
फर्ममा माछा उत्पादन, होटल, लज ब्यवस्थित मात्र होइन । उत्तिकै रमणीय पनि बनाउनु भएको थियो र हेलम्बुलाइ आकर्षक पर्यटकीय गन्तव्य बनाउन उच्चस्तरीय होटल संचालन गर्ने सपनाको पनि अवसान भएको छ। मेरो मैया दिदी जो खोलाप्रति अगाध आस्था राख्नुहुन्थ्यो र बाढीले यो हदको रुप लिन सक्छ भन्ने कल्पना पनि गर्नु हुन्थेन ।
हुन पनि हो दिदीले मात्र होइन हेलम्बुका कोही कसैले पनि यो तहको बाढी देखेका थिएनन् । त्यतिखेर मेरो श्रीमती, ज्वाइ र दुइ छोरीहरु त्यही थिए । मित्रहरु गंगानाथ भण्डारी र भालु शेर्पाले चोक्पुको पुल बगायो रे, ठुलो बाढी आछरे, चनौटेका सबै मानिसहरुलाइ बजार खाली गर्न खबर भन्दिनुस् भनेपछि भटाभटी फोन गर्न थालें ।
घरमा कसैको फोन लागेन, सीता कार्कीको फोन लाग्यो तुरुन्त भागीहाल भनें, बल्ल तल्ल अनिताको फोन उठ्यो उनीहरु त त्यही पो रहेछन् । एकै स्वासमा सबजना मास्तिर भागिहाल भनेको दिदीले अलि नपत्याए जस्तो गर्नुभएछ । उनीहरु सबै भागेपछि भाग्न खोज्दा भ्याउनुभएनछ ।
गोमालाइ धेरै चोटी फोन गरें तर पछिल्लो पटक रुँदै र भाग्दै गरेको अवस्थामा कुरा भो । यदि ती साथीहरुले समयमा खबर नगरेको भए वा दुइ मिनेटमात्र फोन सम्पर्क नभएको भए । हैट, म कल्पना पनि गर्न सक्दिन ।
Facebook Comments