काभ्रेको चौरीदेराली गाउँपालिकाले अक्सिजन प्लान्ट सञ्चालनका लागि सहयोगको अपील गरेको छ । पालिका अध्यक्ष दिनानाथ गौतमले कोरोना सं क्रमितको जीवन बचाउनका अक्सिजन अति आवश्यक रहेका लागि गाउँपालिकाले अघि सारेको यो महत्वपूर्ण योजनामा सबैलाई आफुले सक्ने जति सहयोग गर्न अपील गर्नुभएको हो ।
गाउँपालिकाले धुसेनी शिवालय प्राथमिक अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि १० लाख रकम विनियोजन गरिसकेको छ । धुसेनी शिवालय प्राथमिक अस्पतालले अहिले कोरोना सं क्रमितको उपचार गराइरहेको छ ।
प्लान्ट सञ्चालनका लागि रकम धेरै लाग्ने र गाउँपालिकाले मात्र नसक्ने भएकोले गाउँबासी, देश तथा विदेशमा रहनुहुने सबैसँग आर्थिक सहयोगको आह्वान गरिएको पालिका अध्यक्ष गौतमले बताउनुभयो ।
‘जनस्तरबाट समेत सहयोग नलिई अक्सिजन प्लान्ट सञ्चालन गर्न सकिने अवस्था छैन् । त्यसैले देश तथा विदेश र गाउँमै समेत रहेर विभिन्न पेसा व्यवसाय गर्ने दाजुभाइ, दिदीबहिनीहरू, शिक्षक, कर्मचारी, बुद्धिजीवी, निर्माण व्यवसायी, व्यापारी, उद्योगी लगायत सामाजिक सङ्घ संस्थालाई सबैबाट आ–आफ्नो क्षमता अनुसार जति सक्नुहुन्छ त्यति सहयोग गर्न अपील गरिएको छ, अध्यक्ष गौतमले भन्नुभयो ।’
गाउँपालिकाले अक्सिजन प्लान्ट सञ्चालन गर्न सहयोगको अपील गरेपनि लागत अनुमान भने अझै तयार भैसकेको छैन् । कति क्षमताको प्लान्ट राख्ने र त्यसको लागि कति रकम आवश्यक पर्छ भन्ने बारेमा स्टामिट भैरहेको बताइएको छ ।
आर्थिक सहयोग गर्न ईच्छुक ब्यक्ति वा संघसंस्थाले गाउँपालिकाको एनसीसी बैङ्कमा रहेको ग.५.१ स्थानीय तह विविध कोषको खाता नं. १४४०००००२६३०१ मा रकम जम्मा गर्न सक्ने छन् ।
सहयोग गर्नेलाई गाउँपालिकाको यस्तो छ सम्मान
१. ५ हजार देखि २० हजार रूपियाँसम्म सहयोग गर्ने दाताको नाम फ्ल्याक्स बोर्डमा प्रिन्ट गरी अस्पतालको भित्तामा राखिने ।
२.२० हजार देखि ५० हजार रूपियाँसम्म सहयोग गर्ने दाताको नाम शिलालेखमा लेखि अस्पतालको मूल गेट र प्लान्टको भवनको उपयुक्त भित्तामा राख्ने र प्रमाणपत्र प्रदान गरिनेछ ।
३.५० हजार देखि १ लाख रूपैयाँसम्म सहयोग गर्ने दाताको नाम शिलालेखमा लेखि प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्ने ।
४.१ लाख देखि ५ लाख माथि सहयोग प्रदान गर्ने दातालाई प्रमाणपत्र, शिलालेख, दोसल्ला र मायाको चिनोसहित सम्मान गर्ने ।
५.५ लाखदेखि माथि सहयोग प्रदान गर्नेलाई प्रमाणपत्र, शिलालेख, दोसल्ला र मायाको चिनो सहित ओपीडि कक्ष वा मेडिकल वार्डको मुख्य कक्ष वा प्रशासनिक कक्ष मध्ये मुख्य ठाउँमा फोटो राखी सम्मान गरिनेछ ।
पालिका अध्यक्ष गौतमले सहयोग गर्ने दाताहरुलाई धुसेनी शिवालय प्राथमिक अस्पतालमा उपचाररत रहँदा अक्सिजन निःशुल्क उपलब्ध गराइने बताउनुभयो ।
उहाँका अनुसार रकम प्राप्त भएको जानकारी पाउन साथ गाउँपालिकाको वेभ साइड र फेसबुक पेज मार्फत सार्वजनिक गरिनेछ ।
Facebook Comments