काभ्रेको पनौती नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का बजेट तयारी माथिको छलफल तीव्र पारेको छ । कोरोना भाईरसको जोखिमका बिच पनि निर्धारित समयमै बजेट ल्याउने गरी नगरपालिकाले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट बिषयमा छलफल जारी राखेको नगरप्रमुख भिम न्यौपानेले जानकारी दिनुभयो ।आगामी आर्थिक वर्षका लागि संघीय सरकार मार्फत पनौती नगरपालिकाले ४५ करोड ७० लाख रूपैयाँ बजेट पाएको छ ।’हामी पर्याप्त स्वास्थ्य सावधानी अपनाएरै आगामी बजेटको तयारीमा जुटेको छौ, नगरप्रमुख न्यौपानेले भन्नुभयो, निर्धारित समयमै नीति तथा कार्यक्रम र बजेट आउँछ।’
के छन् प्राथमिकता ?
पनौती नगरपालिकाले यस अघिका सबै बर्षहरूमा कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्ने गरेको थियो । तर यो बर्ष कृषि र पशुपालन दोस्रो प्राथमिकता परेका छन् ।
पहिलो प्राथमिकतामा आगामी बर्ष स्वास्थ्य पर्ने छ । नगरपालिकाले वडा नम्बर १० खोपासी स्वास्थ्य चौकीको माथिल्लो तल्लामा स्वास्थ्य उपकरण सहित अस्पतालको सेवा सुरू गर्ने तयारी थालेको छ । खोपासीमै नयाँ सुविधा सम्पन्न अस्पताल बन्नेछ । जसको लागि १८ रोपनी जग्गा नि:शुल्क प्राप्त भैसकेको छ । आगामी आर्थिक वर्षमा यो अस्पताल निर्माणका का अघि बढ्नेछ ।
कृषि र पशुपालन तर्फ प्रायः यहि वर्षको कार्यक्रमले निरन्तरता पाउनेछ । भैसीको संरक्षण अन्तर्गत पाडी वितरण आगामी आर्थिक वर्षमा पनि हुने निश्चित छ ।
चुनाव लक्षित बजेट छ कि छैन ?
२०७८ साल फागुन महिना भित्र स्थानीय तहको निर्वाचन हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताई सक्नु भएको छ । यो अवस्थामा आगामी आर्थिक वर्ष २०७८/७९ को पुरै बजेट हालका जनप्रतिनिधिले खर्च गर्न पाउदैनन् ।
पनौती नगरपालिकाले चुनाव लक्षित बजेट नबनाउने नगरप्रमुख भिम न्यौपानेले जानकारी दिनुभयो । पुण्य माता करिडोर र क्षेत्रीय रंगशालाले पूर्णता पाउने गरी बजेट माथि छलफल भैरहेको छ । ‘चुनाव लक्षित गरेर वितरण मुखि बजेट र कार्यक्रम आउँदैन्, नगरबासीको आवश्यकताका आधारमा योजना बन्छ र त्यहि अनुसार बजेट विनियोजन हुन्छ, कसैलाई प्रभाव पर्ने गरी हामी बजेट बनाउँदैनौं, नगरप्रमुख न्यौपानेले भन्नुभयो ।’
Facebook Comments