पनौती नगरपालिकाका उपप्रमुख गिता बन्जाराको टोलीले तीन वटा वडामा रहेका दूध संकलन केन्द्रको अनुमान गरेको छ । आज वडा नम्बर १, २ र ३ का दुग्ध संकलन केन्द्रहरुको अनुगमन गरिएको उपप्रमुख बञ्जाराले बताउनुभयो ।पनौती नगरपालिकाले कोरोना भाईरस नियन्त्रण तथा रोकथामका लागि नगर क्षेत्र पूरै शिल गरेको छ । शिल अवधिका लागि बिहान साढे ५ बजेदेखि साढे ६ बजेसम्म र साँझ ६ बजेदेखि ७ बजेसम्म किसानहरुलाई आलोपालो गरी दुध संकलन गर्ने ब्यवस्था मिलाएको छ । शिल अवधिमा दूध संकलन केन्द्रमा जनस्वास्थ्यका मापदण्ड के कत्तिको पालना भईरहेको छ भनेर उपप्रमुख बञ्जाराको टोलीले अनुगमन गरेको हो ।
अनुगमन टोलीमा वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, कृषि तथा पशुपन्छी शाखा प्रमुख मणिप्रसाद सापकोटा, स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिना र पनौती प्र हरी चौकीका इन्चार्ज प्र हरी नायव निरीक्षक सन्तोष बानियाँ सहभागी हुनुहुन्थ्यो । अनुगमन टोलीले दुध संकलकहरुलाई जनस्वास्थ्यका मापदण्डबारेमा जानकारी गराउँदै दूध लिएर आउने किसानहरुलाई वितरण गर्न मास्क समेत उपलब्ध गराएको छ ।
कुखुरा र तरकारी ढुवानीमा केहि सहज
शिल अवधिमा दूध संकलन गर्ने समय निर्धारण गरेपनि तरकारी संकलन र कुखुरा ढुवानीको समय नतोक्दा समस्या परेको गुनासो आएपछि नगरपालिकाले केहि खुकुलो बनाएको छ । नगरक्षेत्रका कुखुरा पालक किसानहरुको सहजीकरणका लागि बिहान ६ बजेदेखि १० बजेसम्म कुखुराको दाना ढुवानी गर्न प्र हरीसँग समन्वय आग्रह गरिएको छ । नगरपालिकाले किसानलाई कम्तिमा एक हप्ताका लागि कुखुराको दानाको व्यवस्था गर्ने गरी किसानहरुलाई समय दिईएको हो ।तयारी कुखुरा, तरकारी र आलु ढुवानीका लागि बेलुकी ९ बजेपछि समय मिलाईएको छ । यसमा सहजीकरण गर्न पनौती प्र हरीलाई नगरपालिकाले आग्रह गरेको छ । कृषि जन्य सामग्री ढुवानीमा आफुहरूले पनि सहजीकरण गरिरहेको पनौती प्र हरीले जनाएको छ ।
Facebook Comments