धुलिखेल १ जेठ: काभ्रेमा कोरोना संक्रमितको उच्च जोखिम बनेको बनेपामा भोलीदेखि कोरोना संक्रमितको मात्रै उपचार गर्ने छुट्टै अस्पताल सञ्चालनमा आउँदै छ । बनेपा नगरपालिकाले वडा नम्बर १० जनागालमा रहेको भोमी अस्पतालमा कोरोना संक्रमितको मात्रै उपचार गर्ने गरी तयारी गरेको हो ।
नगरपालिका र अस्पताल बीच कोभिड डेडिकेटेड अस्पताल सञ्चालन गर्ने सम्बन्धी सम्झाैता भईसकेको छ । सम्झौता अनुसार भोलीबाट अस्पतालले कोरोना संक्रमितको उपचार गर्न थाल्ने छ । हाललाई ४ वटा आइसियू बेड र ६ वटा अक्सिजन सहितको बेड अस्पतालमा हुनेछ । त्यस्तै बिरामीको अबस्था हेरिकन भेन्टिलेटरको ब्यवस्था अस्पतालले गर्नु पर्ने छ ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शम्भु कुमार महतो र भोमी अस्पतालका प्रशासन प्रमुख सुस्मिता पौडेलले हस्ताक्षर गरेको सम्झौता पत्रमा बिरामीको संख्या हेरे स्वास्थ्य कार्यालय काभ्रेको समन्वयमा २५ बडेसम्म बढाउन उल्लेख छ । तर यो ब्यबस्था कोभिड अवधिभरका लागि मात्रै हुनेछ ।
अस्पतालले नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क लिन पाउने छैन । औषधी र प्रयोगशालामा लाग्ने सबै खर्च बिरामीले बेहोर्नु पर्ने छ । अक्सिजन रिफिलका लागि नगरपालिकाले समन्वय गर्ने छ । नगरपालिकाले अस्पताललाई मासिक १३ लाख रूपैयाँ उपलब्ध गराउने छ । सम्झौता असार मसान्त सम्मलाई गरिएको छ । तर आवश्यकता अनुसार दुबै पक्षको सहमतिमा समय थपघट गर्न सकिनेछ ।
Facebook Comments