धुलिखेल १ जेठ: स्वास्थ्य कार्यालय काभ्रेले दोस्रो डोजको भेरोसेल खोप लगाउने खोप केन्द्र सार्वजनिक गरेको छ । कार्यालयले जिल्लाको ११ वटा स्थानीय तहका लागि सात वटा ठाउँबाट भेरोसेल खोपको दोस्रो डोज भोलीदेखि लगाउने गरी खोप केन्द्र सार्वजनिक गरेको हो ।
२०७७ चैत २६ गतेदेखी २०७८ साल बैशाख ६ गतेसम्म धुलिखेल अस्पतालमा पहिलो डोज लगाएका ब्यक्तिले दोस्रो डोजको खोप लगाउन पाउने स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।
मेथिनकोट अस्पतालमा नमोबुद्ध नगरपालिका, रोशी र तेमाल गाउँपालिकाका स्थानीयले खोप लगाउन पाउनेछन् । मण्डनदेउपुर नगरपालिकाका लागि डेडीथुम्का माध्यामिक विद्यालय कुन्ताबेसी, धुलिखेल नगरपालिकाका लागि धुलिखेल अस्पतालमा खोप केन्द्र तोकिएको छ ।
पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाका लागि पाँचखाल नगरपालिकाको सभाहल, चौरीदेराली गाउँपालिकाको लागि कात्तिके देउराली स्वास्थ्य चौकी, बनेपा नगरपालिकाको लागि शिक्षा सदन माध्यामिक विद्यालय लायाकु, पनौती नगरपालिकाका र बेथानचोक गाउँपालिकाका लागि पनौती स्वास्थ्य चौकीमा खोप केन्द्र तोकिएको छ ।
दोस्रो डोजको खोप लगाउन जाँदा पहिलो डोज लगाएको खोप कार्ड र परिचय पत्र साथैमा लैजानु पर्ने डाक्टर झाले बताउनुभयो । यी खोप केन्द्रहरूमा भोलिदेखि जेठ ६ गतेसम्म मात्रै भेरोसेलको दोस्रो डोज लगाउन पाईनेछ । खोप केन्द्र बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै खुल्ला रहने छ ।
Facebook Comments