धुलिखेल ३१ बैशाख: पनौती नगरपालिकाका उपप्रमुख गीता बञ्जारा होम आईसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्न डाक्टर सहित स्वास्थ्यकर्मीको टोली लिएर घर-घर पुग्न थाल्नु भएको छ । आजबाट होम आईसोलेसनमा बसेका संक्रमितको स्वास्थ्य अवस्था बुझ्न घर-घरै पुग्न थालिएको स्वास्थ्य शाखा प्रमुख पुरूषोत्तम तिमल्सिनाले जानकारी दिनुभयो ।पनौती नगरपालिका कोरोना भाईरसको दोस्रो लहरबाट प्रभावित मध्ये जिल्लाको तेस्रो स्थानमा पर्छ । आज नगरपालिकाको बिभिन्न ठाउँका १४ जना संक्रमितको स्वास्थ्य अबस्था बुझ्नुका साथै होम आईसोलेसनमा बस्दा ख्याल गर्नु पर्ने थप सल्लाह दिएको स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाले बताउनुभयो ।
उपप्रमुख बञ्जाराको टोलीमा डाक्टर अभिनेश बञ्जारा, स्वास्थ्य शाखा प्रमुख पुरूषोत्तम तिमल्सिना सहितको स्वास्थ्यकर्मीको टोली छ । नगरपालिकाले चिकित्सक र स्वास्थ्यकर्मीको घरदैलो मै पुग्ने एउटा समूह बनाएको छ । ‘हामीले फोनबाटै पनि उपायहरू बताईरहेका हुन्छौँ, अलिक बढी समस्या भएको घरमै पुुुगेर सल्लाह, सुझाव दिँदा संक्रमितको आत्मविश्वास पनि बढ्दो रहेछ, स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाले भन्नुभयो ।’
हिजो नगरपालिकामा नगरप्रमुख भिम न्यौपाने, वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी, स्वास्थ्य शाखा प्रमुख पुरुषोत्तम तिमल्सिनाको उपस्थितिमा कोभिड महामारीमा अग्रपंतिमा परिचालित भईरहेका स्वास्थ्यकर्मी, CICT र आइसोलेसन टीमसँगको संयुक्त आकस्मिक बैठकले होम आईसोलेसनमा बसी कडा लक्षण चिन्न भै समस्या भएका बिरामीहरुको उपचार तथा परामर्श गर्न एकजना डाक्टर र एक जना स्वास्थ्यकर्मीको ‘घरदैलो पुग्ने’ टिम परिचालित गर्ने निर्णय गरेको थियो ।
बैठकले होम आइसोलेसनमा बसेका बिरामीलाई नगरपालिकाको तर्फबाट १ सेट आईसोलेसन किट उपलब्ध गराउने पनि निर्णय गरेको छ । सबै वडामा तालिका अनुसार र वडा नम्बर ७ मा रहेको इन्द्रेश्वर प्राविमा लक्षण चिन्न भएका ब्यक्तिहरुको नियमित स्वाब संकलन गर्ने र नियमित रूपमा वडा स्थित स्वास्थ्य संस्था तथा नगरपालिकाबाट संक्रमित व्यक्तिलाई टेलिफोन सम्पर्कबाट दिदै आएको आवश्यक परामर्श र सहयोगलाई अझ प्रभावकारी बनाउन थप दुई जना स्वास्थ्य कर्मी परिचालन गर्ने निर्णय गरेको थियो ।
Facebook Comments