धुलिखेल, ३१ बैशाख: पाँचखाल नगरपालिका मेयर महेश खरेलले गाउँ टोलमा भईरहेको विकासमा कसैले जस लिनु पर्ने कुरै नभएको बताउनु भएको छ । नगरपालिकाको वडा नम्बर २ अनैकोट जाने सडकमा नाली र उकालोमा भैरहेको ढलानको फोटो सामाजिक सञ्जालमा राख्दै मेयर खरेलले विकास कसैको पेवा नभइ जनताकै करको पैसाको सदुपयोग मात्रै भएको बताउनु भएको हो ।
एमालेको गढ मानिएको पाँचखाल नगरपालिकामा काँग्रेसबाट स्थानीय तहको चुनावमा मेयर, उपमेयर विजयी भएका थिए । त्यस यता पाँचखालमा संघ र प्रदेश सरकार मार्फत आएका बजेटहरू एमालेले आफुहरूको पहलमा आएको भन्दै स्वामित्व लिने कोशिस गरिरहेका छन् । त्यसै तर्फ इंकित गर्दै मेयर खरेल यस्तो बताएको हो ।
मेयर खरेलका अनुसार टाँकेदेखि हाँगेठाटी, कृष्णमन्दिर हुँदै वडा नम्बर १ को कार्यालय जाने सडकमा उकालो, घुम्ती र अप्ठेरो ठाउँमा ढलान गर्ने र आगामी बर्ष अनेकोट पुरै कालोपत्रे गरिनेछ । वडा नम्बर २ को तिनकुनेबाट वडा कार्यालयजाने सडकमा कालोपत्रे जारी छ ।
पाँचखालका कुनै ठाउँ विकासमा पछि नपर्ने मेयर खरेलको दाबी छ । वडा नम्बर १ को छिनेको पैह्रो देखि कोट्याङ सम्म, १३ नम्बर वडाको पल्लोछेउ रोटेपिङ देखि कालिञ्जोर सम्म, वडा नम्बर ३ र ४ का सबै प्रमुख बस्ती जोड्ने सडक कालोपत्रे हुनबाट कुनै छुट्ने छैनन् ।
वडा नम्बर ५ को खावा हनुमान गढी, मयलपानी, वडा नम्बर ६ को एकता बस्ती, पिपलटार झिगनपुर, तिनपिप्ले बजार, दुलालथोक आँपाबोट जाने सडक, वडा नम्बर ७ को शिखरपुर, वडानम्बर ८ को चिसापानी र थुम्का, वडा नम्बर ९ को आँपघारी–नागवेली–भिमसेनस्थान पलाञ्चोक सडक र चारपिप्ले पहरीबस्ती सडक, वडा नम्बर १० को बेला देखि रानीपानी सडक, वडा नम्बर ११ र १२ को जरेटार शिखरकटेरी, लेखाली टोल, वडा नम्बर १२ को ठकुरी गाउँमा कालोपत्रेको काम भइसकेको छ ।
मेयर खरेलले यी विकास संघ, प्रदेश, स्थानीय, वडा सबै एकजुट भएर नै सम्भवको भएको बताउनुभयो ।’विकास कसैको पेवा हैन्, जनताकै करको पैसाको सदुपयोग हो । हामीलाई थप काम गर्नको लागि हौसल्ला र प्रेरणा दिनुहोला ।’ मेयर खरेलले भन्नुभयो ।
Facebook Comments