२७ बैशाख, धुलिखेल: पछिल्लो दुइहप्ता यता काभ्रेमा कोरोना संक्रमणबाट मृत्यु नभएको प्राय: दिन छैन । संक्रमितको संख्या कुनैदिन दुई सयको हाराहारीमा पुग्छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ९९ सय पुगेको छ । त्यो आज घट्ने होईन बढ्दो क्रममा छ ।
जिल्लामा अहिले दुई ठूला अस्पताल, धुलिखेल सामुदायिक अस्पताल र शिर मेमोरियल अस्पताल बनेपाले कोरोना संक्रमितको उपचार गरिरहेका छन् । धुलिखेल अस्पतालले आईसियू, एचडियू र सामान्य सहित १ सय बेड कोरोना संक्रमितको लागि छुट्याएको दाबी गर्छ । त्यसैगरि शिर मेमोरियल अस्पताल बनेपाले २० बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याएको छ ।
धुलिखेलको १ सयमा र बनेपाको २० जोड्दा १२० जना कोरोना संक्रमितले अस्पतालमा उपचार पाउनु पर्ने हो । तर अहिले यी दुबै अस्पतालमा ४६ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेको दैनिक अध्यावधि हुने तथ्यांकले देखाउँछ । संक्रमितको ठूलो संख्या होम आईसोलेसनमै छ ।
बाँकी बेडमा को छन् ?
हुन त अस्पतालको बेडमा बस्दैमा कोरोना भाईरसलाई सजिलै जितिन्छ भन्ने होईन । तर बिरामीको आत्मबल भने स्वाभाविक रूपमा बढ्छ नै । स्वास्थ्य कार्यालय काभ्रेको दैनिक अध्यावधि हुने तथ्यांक हेर्दा र अस्पतालले तोकेको बेड संख्यालाई आधार मान्ने हो भने अझै ७४ बेडको खाली हुनु पर्छ ।
तर यी दुबै अस्पतालमा अहिले भर्खरै तपाई वा तपाईका कोहि आफन्त संक्रमित हुनुभयो र बेड चाहिँयो भनेर फोन गर्नु भयो भने एउटा पनि बेड खाली नरहेको जनाउ पाउनु हुन्छ । सामान्य कोरोना संक्रमित मान्छेले सामान्य बेड पाउनु भनेको कुनै युद्ध जित्नु सरह भैकेको छ । कयौँ बिरामीले त आईसियू र एचडियू बेड छुन नपाई प्राण त्याग्ने गरेका छन् ।
तर काठमाडौँसँग नजिक भएर मात्रै होईन् काभ्रे आफैमा धेरै जनसंख्या भएको जिल्लामा पर्छ । जिल्लाको जनसंख्या र अहिले अस्पतालको बेड संख्या समेत तुलना गर्दा आकाश जमिनको फरक छ । जिल्लाका यी दुई अस्पतालसँग काभ्रे बाहेकका जिल्लाका पनि बिरामी भर पर्नु परेको छ ।
तयारी निकै फितलो
जिल्लाको जनसंख्या र अन्य जिल्लाले समेत काभ्रेको भर परिरहेको अवस्थालाई हेर्दा काभ्रे जिल्ला स्वयमको तयारी भने निकै फितलो छ । यी दुई अस्पतालमा काभ्रेलीलाई नै बेड छैन ।
यो बेला काभ्रेले अरू जिल्लाको समेत साथमा ठूलो संख्यामा कोरोना संक्रमितको उपचार गर्न सक्ने अस्थायी कोभिड अस्पतालको ब्यवस्थापन तत्काल गर्नु पर्थ्यो । तर यहाँका बौद्धिक वर्ग, नेता, सासंद, जनप्रतिनिधिले समेत यसमा कुनै चासो दिएको देखिन । आईसोलेसन सञ्चालन गर्न समेत स्थानीय तहहरूले निकै आनाकानी गरे सुरूको दिनमा । फलस्वरुप संक्रमितको होम आईसोलेसनमै मर्न बाध्य भएका छन् ।
बागमती प्रदेशको राजधानी राख्न भौतिक संरचना पर्याप्त छ भनेर दाबी गर्ने मध्येको एक काभ्रे जिल्ला यो संकटको बेला नागरिकको ज्यान जोगाउन कुनै एउटा भवन खाली गरेर आईसोलेसन समेत राख्न नसक्नु जस्तो दुःखद् कुरा अरू के हुन सक्छ र ! हो काभ्रेमा ठूला भवन छन् । तर त्यसलाई यस्तो संकटको बेला पनि प्रयोग गरेर जनताको ज्यान बचाउने तर्फ कुनै पहल गरिँदैन भने त्यो गम्भीर भुल हुनेछ ।
मौका यहि हो । सुरू गरौँ अस्थायी कोभिड अस्पताल बनाउन । जहाँ कम्तीमा दुई सय संक्रमित एकैपटक राख्न सकियोस् । अनि पो नेतृत्व प्रतिको भरोसा थप बढ्छ । काभ्रे जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै (संघ र प्रदेश) सासंदहरूले आफ्नो क्षेत्रको विकासका लागि आउने केहि रकम हालौं । स्थानीय तहले पनि केहि रकम यसका लागि केहि रकम हालौं । जनता रहे विकास अर्को बर्ष गर्दा पनि हुन्छ । अरू छिमेकी जिल्लाका सांसदहरूलाई पनि यसको महत्व बुझाऔ, ठूलो कोभिड अस्थायी अस्पताल बनाउ, जसलाई पछि सरकारी अस्पताल बनाउन पाईयोस् ।
अहिले जिल्लाका दुई ठूला अस्पतालले हामी कोरोना संक्रमितको उपचार गर्दैनौँ र सरकारले भने अनुसार कुल बेड संख्याको २० प्रतिशत मात्रै कोरोना संक्रमितको उपचारका लागि छुट्याउछौ भने, भने काभ्रेका कोरोना संक्रमितलाई कहाँ लगेर उपचार गर्ने ? स्मरण रहोस् काभ्रेका यी दुई ठूला अस्पताल सरकारी होईनन् । यदि काभ्रेमा समयमै राम्रो सरकारी अस्पताल हुन्थ्यो भने अहिलेको अहिलेको नियति भोक्नु पर्ने थिएन ।
Facebook Comments