२१ बैशाख, धुलिखेल: सरकारले सिन्धुपाल्चोक जिल्लाका बाढी पहिरो पीडितलाई घर बनाउन प्रति परिवार ४ लाख रूपैयाँ दिने भएको छ । अघिल्लो बर्ष सिन्धुपाल्चोक जिल्लामा बाढी पहिरोबाट सबैभन्दा बढी मानवीय र भौतिक क्षति पुगेको थियो । जुगल गाउँपालिका, बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिका बढी प्रभावित बनेको थियो ।
सिन्धुपाल्चोक सहित २२ जिल्लाका बाढी पहिरो पीडितलाई घर निर्माणका लागि अनुदान उपलब्ध गराउन मुलुकमा पहिलो अभ्यासस्वरुप कार्यविधि नै तयार पारेको छ । अब मनसुनजन्य विपदबाट प्रभावित परिवारले पुनःस्थापनाका लागि सरकारबाट अनुदान पाउनेछन् ।
यसरी दिइनेछ अनुदान कार्यविधिअनुसार अस्थायी आवास निर्माण अनुदानतर्फ पहिलो र दोस्रो किस्तामा २५/२५ हजारका दरले ५० हजार पाउनेछन्।
पुनःनिर्माण र पुनःस्थापना अनुदानतर्फ हिमाली जिल्लामा ५ लाख दिइने छ। त्यसमध्य पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता दुई लाख ५० हजार र तेस्रो किस्ता दुई लाख उपलब्ध गराइने छ।
पहाडी जिल्लामा प्रति परिवार चार लाख उपलब्ध गराइने छ । जसअनुसार पहिलो किस्ता ५० हजार दोस्रो दुई लाख र तेस्रो किस्ता एक लाख ५० हजारका दरले वितरण हुनेछ।
यस्तै तराईका जिल्लामा तीन लाख अनुदान दिइने छ। कार्यविधि अनुसार पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता रु एक लाख ५० हजार र तेस्रो किस्ता रु एक लाख दिइने छ।
घडेरी पनि नहुनेको हकमा बढीमा तीन लाखसम्म अनुदान दिइने प्राधिकरणले जनाएको छ। यस्तै मर्मत तथा प्रवलीकरण अनुदानतर्फ कार्यसम्पन्न भएपछि ५० हजार एकमुष्ट दिइने छ । अनुदान रकम सम्बन्धित स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारले संयुक्तरूपमा बेहोर्नेछ।
लागत सहभागिताका आधारमा जिल्ला विपद् व्यवस्थापन कोषमा रकम जम्मा भएपछि प्रमुख जिल्ला अधिकारीले सम्बन्धित लाभग्राहीको बैँक खातामा पठाउने कार्यविधिमा उल्लेख छ।
कोषमा गाउँपालिका, नगरपालिका, उपमहानगर, महानगरपालिकाले क्रमशः १०, १५ र २० प्रतिशत तथा प्रदेश सरकारले ३० प्रतिशत र बाँकी सङ्घीय सरकारले खर्च बेहोर्ने छ।
विसं २०७७ को मनसुन (जेठ ३० देखि असोज ३०) मा बाढी र पहिरोले धेरै जनधनको क्षति भएको थियो। उक्त विपदबाट सिन्धुपाल्चोक, बाग्लुङ, दोलखा, अछाम, कालिकोट, नुवाकोट, जाजरकोट, दार्चुला बझाङ, दाङ, गोरखा, मकवानपुर, तनहुँ, अर्घाखाँची, स्याङ्जा, रसुवा, धनकुटा, सङ्खुवासभा, गुल्मी, मोरङलगायत जिल्ला बढी प्रभावित भएको थियो।
विपदबाट प्रभावित परिवारको घर पुनःनिर्माण तथा पुनःस्थापनाका लागि नेपाल सरकारबाट २० करोड रूपैयाँ रकम प्राप्त भएको र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय र मागका आधारमा उक्त रकम जिल्लामा पठाउन शुरु गरिएको जनाइएको छ।
पहिलो चरणमा आवश्यक प्रक्रिया पूरा गरेका म्याग्दी जिल्लाका २४७ निजी घर पुनःनिर्माण तथा पुनःस्थापनाका लागि प्रथम किस्तास्वरुप सङ्घीय सरकारले व्यहोर्नु पर्ने एक करोड आठ लाख ९७ हजार ५०० पठाइएको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो ।
तीन हजार परिवारमा उक्त कार्यक्रम सञ्चालन गर्ने अनुमान गरिएको छ। उक्त मनसुनजन्य विपदबाट करिब छ हजार घर प्रभावित भएका थिए । यो कार्यक्रम झण्डै भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमझै अघि बढाइने छ।
Facebook Comments