२१ बैशाख, धुलिखेल: पनौती नगरपालिकाको वडा नम्बर ४ का केहि ब्यक्तिले हिजो मानवीयता विपरितको ब्यवहार देखाएका छन् । नगरपालिकाले वडा कार्यालयमा सञ्चालन गर्न लागेको आईसोलेसन बन्द गराउन खोजेर उनीहरूले यो संकटको परिस्थितिलाई गम्भीरता पुर्वक नलिएको प्रष्ट देखिन्छ ।
नगरपालिकाले वडा नम्बर ४ को नयाँ भवनमा आईसोलेसन सञ्चालनको तयारी थालेको थियो । तर केहि स्थानीयले आफुहरूलाई नसोधी आईसोलेसन सञ्चालन गर्न लागेको भन्दै विरोधमा उत्रिए । जुन विरोध आवश्यक थिएन । बरू नगरपालिकाको यो कामलाई सहयोग गरेर छिटो आईसोलेसन सञ्चालन गर्न ती स्थानीयले सहयोग गर्नु पर्थ्यो ।
नगरपालिकाले उक्त वडा कार्यालयमा ३० वेड क्षमताको आईसोलेसन सञ्चालन गर्ने गरि आवश्यक सबै तयारी थालेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुरूषोत्तम तिमल्सिनाका अनुसार आईसोलेसनमा अक्सिजन सहितको सुविधा हुनेछ । विरोधमा उत्रिएका केहि स्थानीयले भने जस्तो वडा कार्यालय बस्तीको बिचमा पनि छैन । यदि बस्तीकै बीचमा हुन्थ्यो भनेपनि पर्याप्त स्वास्थ्य मापदण्ड अपनाएर नै आईसोलेसन बनाउने हो । हिजोको विरोधमा उत्रिएका केहि ब्यक्तिको अभिव्यक्ति सुन्दा लाग्थ्यो आफ्नै घरका कोहि संक्रमित भएर अस्पतालमा पनि बेड खाली नभएको अवस्थामा के उनीहरूलाई घरबाटै निकाल्ने ?
यद्यपि आईसोलेसनको तयारी थाल्नु अघि नगरपालिकाको स्वास्थ्य टोलीले उक्त ठाउँको अवलोकन गरेको थियो । अहिले स्थानीयसँग बसेर छलफल गर्ने पर्याप्त समय पनि छैन् पनौती नगरपालिकालाई ।
पनौती अहिले जिल्लाको सबैभन्दा बढी कोरोना संक्रमित हुने तीन नगरपालिका मध्ये तेस्रो नम्बरमा पर्छ । जहाँ खोपासी नराम्रोसँग प्रभावित बनेको छ । एक जनाको मृत्यु नै भैरहेको छ । करिब १ सय जनाको हाराहारीमा संक्रमित पुग्ने अनुमान गरिएको छ । अझै खोपासी क्षेत्रको शिल खुल्ला गरिएको छैन् ।
नयाँ भवनबाट वडा कार्यालयले काम सुरू गरि नसकेको र भौतिक हिसाबले समेत उचित भएकाले आईसोलेसन सञ्चालनका लागि भवन दिईएको वडाध्यक्ष बुद्धि सिं थापाले बताउनुभयो । वडाध्यक्ष थापाका अनुसार जबर्जस्त राजनिती गर्ने कोशिस गरियो । जुन यो बेला आवश्यक नै थिएन ।
बिरोधको नेतृत्व नेपाली कांग्रेसका स्थानीय नेता महेश थापा र उनका कान्छा ससुरा जीवन थापाले गरेको बताईएको छ । उनीहरूको घर आईसोलेसन सञ्चालन गरिने वडा कार्यालय आसपास पनि पर्दैन । तर उनीहरूले वडा कार्यालय आसपासका केहि ब्यक्तिलाई भड्काएर एकछिन तमासा देखाए । गेटमा ताल लगाए, नारा जुलुस गरे, भिडियो खिचाए । तर उनीहरूको विरोधलाई अन्य स्थानीयले साथ दिएनन् । ‘यो बेला आफ्नो घरमा कोठा खाली छ भने त जीवन बचाउनको लागि दिनु पर्ने अवस्था छ, वडाध्यक्ष बुद्ध सिं थापाले भन्नुभयो ‘केहि ब्यक्तिले यस्तो संवेदनशील समयमा पनि भड्काउन खोजेका थिए, तर त्यो पुरा गर्न दिएनौ ।’
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तिमल्सिनाका अनुसार अहिले आईसोलेसन निर्माणको काम तीव्र गतिमा अघि बढाईएको छ । केहिदिनभित्रै सञ्चालन आउँनेछ ।
Facebook Comments