काठमाडाैं । भाइटीकामा दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मनपर्ने कुरा खुवाउने र दिदीबहिनीहरूलाई दक्षिणा एवं वस्त्र दिएर मनाइन्छ ।
यमपञ्चक सुरू हुनु अगावै दिदीबहिनीले दाजुभाइलाई भाइटीका ग्रहण गर्नका निमित्त पान, सुपारी, पुष्प पठाई निम्तो दिइन्छ । यस्तै, भाइटीकाका दिन टीका ग्रहण नगरी केही खानु हुँदैन भन्ने चलन छ । टीकाको दिन प्रातकालीन स्नान गरी भक्ति र अनुष्ठानपूर्वक अष्टचिरञ्जीवीको आवाहन गरिन्छ । अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य, परशुराम र मार्कण्डेय गरी आठ जनालाई अष्टचिरञ्जीवी हुन्
विशेषतः भाइटीकाको विधिपूर्वक पूजा गर्न ओखर, तोरीको तेल, बिमिरो, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मिष्ठान्नको प्रयोग हुन्छ । पूजा–विधिअन्तर्गत दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोग गर्ने प्रचलनको लाक्षणिक एवम् प्रतीकात्मक अर्थ हो -दिदीबहिनी र दाजुभाइको समृद्धि, आरोग्य एवं दीर्घायु ।
टीका लगाउने विधि
भाइटीका लगाउनुपूर्व सबैभन्दा पहिले दियो, कलश तथा गणेश स्थापना गरी पूजा–अर्चना गरिन्छ । त्यसपछि दाजु–भाइको मंगल–माङ्गल्यको कामना गर्दै ढोकामा ओखर तथा यमराजको पूजा गरी काल छेकिन्छ र ओखर फुटाइन्छ । त्यसपछि पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्ने गरिन्छ । अनि क्रमशः फूल, अक्षता, अबिर, केशरी र चन्दन, पत्रपुष्प, लाभाले पूजा गरी दाजुभाइको शीरमा तेल लगाइदिएर सगुनस्वरूप दही खुवाउने चलन छ ।
त्यसपछि दिदी–बहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुष्यको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् । सप्तरङ्गी टीकाको पनि आ–आफ्नै महिमा छ । रातो रङले सुख, नीलो रङले शान्ति, गुलाफी रङले समृद्धि, वैजनी रङले स्वास्थ्य, हरियो रङले दीर्घायु र पहेँलो रङ उल्लाको प्रतीक हुन् । त्यस्तै पुछारमा लगाइने राता अक्षतासहितको टीकाले उमंगको प्रतिककाे रुपमा मानिन्छ ।
टीका लगाइसकेपछि फूलको माला पहिर्याउनु पर्छ । भाइटीकाका दिन दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको आ–आफ्नै महत्त्व पनि छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रङ्ग कहिल्यै उडेर जाँदैन भने दूबो सधैं हरित रहन्छ । दाजुभाइप्रतिको प्रेम रङ्गजस्तै गाढा तथा निरोगी भैरहने विश्वास स्वरूप ती माला प्रयोग गरिने शास्त्रमा उल्लेख छ ।
दिदीबहिनीले टीका लगाइ सकेपछि दाजुभाइले पनि चेलीबेटीलाई टीका लगाएर गच्छेअनुसार उपहार र दक्षिणा प्रदान गर्दछन् ।
Facebook Comments