मृत्यु या मुक्ति । जनयुद्धको यहि हो सपथ । वर्गमुक्तिको आन्दोलन । समानताको लडाई लडेको त्यो दिन सम्झिदै पुँजीवादी ब्यबस्थाको यो दलदल भित्रबाट बनेपाको चिसो मौसमसँगै रातो सलाम ।
प्रिय कमरेड…..
यहाँ मलाई ठिकै छ । त्यहाँ कमरेडलाई पनि कुशल मंगल नै रहोस् भन्ने कामना गरेको छु । कमरेड आजभोलि जहाँ छौँ, त्यो तिम्रो स्थान पटक्कै हो जस्तो लाग्दैन । तिमी आजभोलि हिजोको सुन्दर बाचा कसमहरुलाइ भुल्दै जनताको दुस्मनसँग रमाइरहेको देख्दा मन निक्कै जलेर आउँछ ।
मलाई कता कता लाग्थ्यो यो दुनियाँ परिवर्तनको सबैभन्दा शक्तिशाली कामको अगुवा तिमीले नै गरिरहेका छौ । संसारका सारा मानिसका समस्याहरु यसै यात्राबाट समाधान हुनेछ । शोसित, पीडित जनताको सम्पुर्ण दुःख र कष्टहरु अब सदाका लागि अन्त्य हुदैँछ ।
तर दुःखको कुरा कमरेड । त्यो यात्राबाट तिमी बिथोलियौ । बाटो बिराउदैँ गयौ । हराएर अनकन्टार जङ्गलभित्र हराएझै भयौ । तर तिमीले अझै पनि सोचिरहेका छौँ कि म मुल बाटोमै छु । केही समय मिठा मनोरञ्जनता उपभोग गर्न पाइरहेको कुरालाई तिमीले जीवन यही हो भनेर सोच्न पुग्यौ ।
यी कुरा नै विशाल भ्रम हुन् भनेर बुझ्न धेरै ढिला भइसक्यो कमरेड । तिम्रा मृत्यु चाहाने परिवर्तन बिरोधी दानबहरु तिम्रै वरिपरि तिमीसँगै लुकामारी गरिरहेका छन् । जसलाई तिमी आफ्नो मित्र सम्झेर अगाडि बढ्न खोजिरहेका छाैँ । घनखोर जङ्गलमा बाटो बिराएपछिको सहयात्री बनाउन खोजिरहेका छौ ।
तर प्रिय कमरेड । अब तिमी त्यहाँबाट कसैगरी पनि फर्किनु नै पर्छ । कता कता तिमीलाई दुविधा भयो होला । कतै मेरैहरु सबैले छोडिसके कि भनेर । त्यस्तो होइन कमरेड । तिम्रा हिजोका आफ्नाहरु आज पनि आफ्नै छन् । हुने छन् । एक पटक सम्झ त । ती झुडपीका पुगेर एकछाक राम्रोसँग खाना नपाउने । पुरै शरीर ढाक्न नसक्ने वर्गसँग तिमीले गरेको बाचा । त्यो बाचा अलिककति पनि पुरा भएको छैन । अझै पनि मसँगको भेटमा कहिले काँहि कमरेड मुक्तिका बुढा बा सोध्नुहुन्छ । हामीलाई सिकाएको वर्ग संघर्ष र मुक्ति त आउन बाँकी नै छ नि है बाबु । अब भन्नुस् कमरेड हामीले के जवाफ दिने ? यी बालाई ।
दुनियाँमा मानव सभ्यताको नयाँ शुरुआत तिमीबाटै हुन्छ भन्ने बिश्वास बोकेर बसेकाहरू, संसारमा असफल भैसकेको दलाल पुँजिबादले अब नेपाल र नेपालीको भविश्य निर्माण गर्न सक्दैन भन्ने निष्कर्षमा पुगेका युवाहरु तिम्रै प्रतीक्षा गरिरहेका छन् । संसदीय ब्यबस्थाको घीनलाग्दो परम्पराबाट श्रमजीवी सर्बहारा बर्गको हित कम्युनिस्ट बिचारले पनि गर्न सक्दैन । अब यो अभ्यास अरु थप गर्न जरुरी छैन । यहाँसम्मको परिबर्तन पनि प्रतिक्रियावादीहरुको निम्ति निकै बढी भइसकेको तीनका नोकरहरुले दिएको पछिल्लो अभिब्यक्तिबाट प्रष्ट हुन्छ । होसियार हुनुस् कमरेड । उनीहरु कसरी हुन्छ गणतन्त्र र संघीयतालाइ विघटन गरिदिन पाए हुन्थ्यो भन्ने दाउमा छन् ।
अतः कमरेड माओले भन्नु भए झै ‘बिचार सही वा गलत हुनुले सबै कुराको छिनोफानो गर्छ’ भन्ने कुरालाई आत्मासात गर्नु आग्रह गर्दछु ।
उहीँ तिम्रो,
दुःखी कमरेड, अभिलाष तिमाल काभ्रे
राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय सदस्या तथा काभ्रे जिल्ला ईन्चार्ज अभिलाष लामा, पूर्व जनमुक्ति सेनाका कमाण्डर समेत हुन् ।
Facebook Comments