राजकुमार गोले, अमेरिका
अक्टोबर ३० अर्थात कात्तिक १४ गते शुक्रबार । अमेरिकामा साँझ परेको थियो भने नेपालमा बिहान । रातिको काम भएकाले ड्युटि जाने तयारीमा थिए । यसो मोबाइल हेरे । एक्कासी सामाजिक सञ्जालमा एउटा चिरपरिचित अनुहारको फोटोमाथि श्रद्धाञ्जली क्याप्सुन देखेँ ।
एकाएका आङ सिरिङ्ग भयो । कताकता घोचेजस्तो, पोलेजस्तो, रिंगटा लागेर ढलौं जस्तो । सपना हो कि विपना । सपना हो कि ? भनेर चिमोटेँ आफूले आफैँलाई । तर, म त सुतेकै थिइन उभिरहेको थिएँ ।
ड्युटि जानुपर्ने मान्छे हातखुट्टा गलेर पाइला अघि सर्नै मानेन् । मेरो बाध्यता थियो जसरी पनि ड्युटी जानुपर्ने । सेकेन्ड सेकेन्ड समयको महत्व छ यहाँ । भुवा जस्तो शरीरलाई गरुंगो बनाएर डेराबाट निस्केँ । मन लागी नलागी काम गरेँ । यो घटना सत्य नभइदियोस भनेर लाखैँ पटक कामना गरेँ मनमनै । पत्याउनै सकिरहेको थिइन । रातको ठिक १२ बजे काम अलि कम थियो । त्यतिबेलै धुलिखेलमा रहेका पत्रकार साथी प्रकाश सुन्दासलाई म्यासेज गरेँ । आशा थियो उनले त्यो झुटो हो भन्लान भन्ने । तर, जवाफ ठिक विपरित आयो । आखिर सत्य त्यहि नै रहेछ । जुन फेसबुकका टाइमलाइन भरी फोटो र श्रद्धाञ्जली लिखिएका शब्द थिए । विष्णु प्रसाद चौलागाईँ काभ्रे पोष्ट साप्ताहिकका प्रधान सम्पादक ।
मनमा बेचैनीका तुफान चल्न थाल्यो । के गरौं, कसो गरौं मात्रै भइरहयो । विष्णु दाइसँगै तीन दशक लामो पत्रकारिताको अध्याय पनि चितामा जल्ने भयो भनेर मन भतभती पोलिरह्यो । जिल्लाको पत्रकारितामा उहाँको योगदानको जति बयान गरे पनि कमि नै हुनेछ । भेट्दा सधैँ हासिँलो अनुसार । अब तपाईको त्यो हसिँलो कहिल्यै देख्न पाइने छैन दाइ । समाचार देख्ने मात्रै होइन खेलेर आम पाठक र सम्बन्धित निकायसम्म पुर्याउने खुबी उहाँमा थियो । काभ्रेली जनता र कोशीवारी अनि पारीका गरिब, दुःखीका समाचार लेखेका पत्रिका बोकेर उहाँ सरकारी कार्यालयका हाकिमकहाँसम्म पुर्याउनुहुन्थ्यो । तपाईले लेखेका समाचारको प्रभावले गरिब जनताका पक्षमा धेरै कामहरु भएका छन् ।
अब कसले लेख्ला कोशीपारी र वारीका गरिबका समाचार ?
विष्णु दाई तपाई एउटा असल पत्रकार मात्र नभएर मेरा लागि असल अभिभावक पनि हो । पत्रकारितामा उहाँबाट धेरै कुरा सिक्ने अवसर प्राप्त गरेको छु । गएको चैत ३ गते मेरो जिन्दगीको कालो रात बनेर आयो । पनौती बसपार्कमा मेरी प्यारी बहिनी जुनी र भाञ्जीलाई ट्रिपरले ठक्कर दियो । ठक्कर मात्र दिएन ज्यानै लियो । त्यो पीडा सहन मलाई असाध्यै गाह्रो भएको थियो । कोरोना महामारीका कारण म अमेरिकाबाट नेपाल आउन सक्ने अवस्थामा थिइन ।
त्यतिबेला उहाँले सान्त्वना दिनुभएको थियो । मेरो परिवारको खुसी लुटिँदा उहाँले भन्नुभएको थियो ‘तिमि हजारौँ माइल टाढा छौ, अहिले आउन सक्दैनौ । आफ्नो मनलाई सम्हाल । तिम्री बहिनी मेरी पनि बहिनी हो, यहाँको जिम्मेवारी म लिन्छु ।’ दाइका यी शब्दहरु मनभरी तरंगित भइरहेका छन् ।
आज तिनै दाइले सबैलाई छोडेर जानुभयो । म मात्र होइन विदेशमा रहेका काभ्रेली सबै शोकमा छौँ । केहि दिन अघि कोरोनासँग जुधिरहेको छु केहि दिनमा सन्चो होला भन्नु हुन्थ्यो । तर, निष्टुरी रहेछ समय । काभ्रेले एउटा उज्यालो लालटिन, मेहेनती, मिलनसार र इमान्दार व्यक्तित्व गुमायो । शिक्षा र पत्रकारिताबाट आफ्नै ठाउँमा केहि गर्छु भन्ने अठोट थियो तपाईमा । त्यो सबै दाइसँगै चिता गयो ।
तर, दाइ एउटा विश्वास तपाईंलाई चिताले जलाए पनि हामी तपाईंका सपनाहरुलाई जल्नदिने छैनौं । तपाईंले जति गर्न नसकुलाँ, तर तपाईंको बाटो पहिल्याउने छौं । यो दुःखद् घडीमा शेकसन्तब्द परिवार जनामा शब्द मार्फत संवेदना बाहेक अरु के नै दिन सकिन्थ्यो दाई । दाई तपाईको मृतात्मा यो सात समुन्द्र पारीको देशबाट हार्दिक श्रद्धाञ्जली । अमर रहनुहोस् ।
Facebook Comments