बोडी र टमाटार एक/एक विगाहा जतिको क्षेत्रफलमा रोपिएको छ। काँक्रा र खुर्सानी दश/दश कठ्ठामा। ‘स्टिक लेस’ बोडी र ५५५ जातको टमाटर थाइल्याण्डकै। ‘१७ – ०१’ जातको खुर्सानी भारतको र करेला ताइवानको ‘रेम्बो’ जात ! घोराही उपमहानगरपालि-१० नारायणपुर बजार भन्दा झन्डै ३/४ मिटर उत्तरको बीपी बाटिकामा गरिएको यो तरकारी खेती ३७ वर्षीय महेन्द्र थापाको हो।
साढे दुई विगाहाको प्लटमा विभिन्न तरकारी खेती मिलाएर गरिएको छ। अलि टाढा र माथिबाट नियाल्दा त्यो सबै हरियो गलैंचा जमिनमा बिच्छाए जस्तै चिटिक्क परेको देखिन्छ। तरकारी खेतीको बीचमा एउटा पोखरी छ। त्यो पोखरीमा पानी भण्डारण गरिएको छ। त्यहाँ पानी भर्न केही माथि कुवा (इनार) खनिएको छ। आवश्यक पर्दा त्यही इनारबाट मोटरले तानेर पानी पोखरीमा भरिन्छ। अनि त्यो पोखरीमा मोटर चलाउँदा प्रत्येक तरकारीको बोट–बोटमा पानी पुग्छ।
साढे दुई विगाहाको तरकारीमा सिँचाइ गर्न ५ वटा ब्लक निर्माण गरिएको छ। ती खोले १५ मिनेटमै थोपा सिँचाइ प्रत्येक बोटमा पुग्छ।अढाई विगाहामा रोपेको विभिन्न तरकारीको बोट/बोटमा यसरी थोपा सिँचाइ पुर्याउन मात्रै झन्डै १० लाख जति खर्च गरिएको छ।केहीसमय अघि हामी पुग्दा थापाको बीपी बगैंचा १६ जना मानिसहरूले एकै साथ काम गरिरहेका थिए। उनीहरूमध्ये कोही औषधि छर्दै थिए, कोही गोडमेल गरिरहेका देखिन्थे।
घोराही १० कै खैरीमा पनि थापाको ३ विगाहामा तरकारी खेती छ। त्यहाँ उनले टमाटर, काँक्रा, फर्सी रोपेका छन्। त्योबाहेक यो वर्ष छुट्टै दश कठ्ठा क्षेत्रफलमा थापाले ‘रेड लेडी’ नामक मेवा खेती पनि सुरू गरेका छन्। घोराही २ रामपुरमा पनि थापाको दुई विगाहा १२ कठ्ठा क्षेत्रफलमा तरकारी खेती छ। जहाँ उनको घरबास र आफ्नै केही जग्गा पनि छ। आफ्नो बाहेक अरूको जग्गा भाडामा लिएर थापाले त्यहाँ पनि तरकारी खेती गरिरहेका छन्।
थापाले नारायणपुरको जग्गा वार्षिक एक विगाहाको १८ हजार भाडामा लिएका छन्। खैरीको जग्गा त्यो भन्दा पनि सस्तो छ। एक विगाहाको वार्षिक जम्मा ५ हजार २ सय मात्रै भाडा तिर्ने गर्छन्। आफ्नो घर वरिपरि रामपुरमा भने अलि महँगो दरमा थापाले जग्गा भाडामा लिएका रहेछन्, प्रति कठ्ठाको वार्षिक ३ हजारका दरले। यी तीन ठाउँमा गरेर उनले ८ विगाहा बढी क्षेत्रफलमा तरकारी खेती मात्रै गरेका छन्।
थापाले व्यवसायिक रूपमा यसरी निरन्तर तरकारी खेती गर्न थालेको १४ वर्ष भयो। रोल्पाको रून्टीगढी गाउँपालिका- ७ होलेरी उनको पुर्खौली घर हो। उनले त्यहाँ पनि ८ वर्ष तरकारी खेती गरेका थिए। गाउँमा उनले टमाटर र लसुनको व्यवसायिक खेती गरे। तर, रोल्पामा थोपा सिँचाइको समस्या भयो। पर्याप्त जमिन पनि नपाइने। सबभन्दा धेरै असिनाको डर हुन्थ्यो रे।
त्यही भएर आफू सम्भावना खोज्दै दाङ झरेको थापाले बताए। दाङ आएपछि उनको तरकारी व्यवसाय यति बढ्यो कि अहिले नेपालगञ्ज, बुटवल र नारायणघाट सम्मका व्यापारी उनी कहाँ तरकारी किन्न आउँछन्। ‘उहाँहरू यहाँ आएर हेरेर जानु हुन्छ र मैले खेतबारीको तरकारी टिपेर लोड गरी पठाइदिन्छु,’ थापाले थपे, ‘ कतिपय भने आफैं आएर टिपेर लैजानु हुन्छ।’
सुरूआतको लकडाउनको समयमा खैरीमा १७ कठ्ठा क्षेत्रफलमा रोपेको काँक्रामात्रै ६ सय २८ क्विन्टल बेचेको थापाले जानकारी दिए।त्यसबाट उनले झन्डै १५ लाख बढीको कारोबार गरे। खैरीमै ७ कठ्ठामा रोपेको खुर्सानी २ सय ४ क्विन्टल बेचे। त्यसबाट १२ लाख बढीको व्यापार भयो। त्यो बाहेक थापाले लकडाउनको समयमा खैरीमै उत्पादित टमाटर मात्रै १३ लाख बढीको विक्री गरेछन्। ६ वर्ष अगाडि दाङमा झरेदेखि नै तरकारी खेती गर्दै आएका थापाले एक करोड बढी नाफा लिन सफल भएको बताए।
‘अरू व्यवसायमा एक रुपैयाँ लगानी गर्दा फाइदा पैसामा हुन्छ,’ थापाले भने ‘तर,तरकारी खेतीमा लगानी गर्दा एक रुपैयाँको दुई/ तीन रुपैयाँ फाइदा मज्जाले हुन्छ।’ बुझेर खेती गरेमा तरकारी खेतीबाट राम्रो लाभ लिन सकिने थापाको विश्वास छ। तर उनी अरूले गरेको देखेकै भरमा तरकारी खेती गर्न नहुने सुझाउँछन्। खेती गर्नुभन्दा पहिला आफूले गर्न चाहेको खेतीबारे राम्रो ज्ञान लिन जरूरी भएको उनले बताए।
थापा आफैं पनि वर्षेनी तरकारी खेतीबारे तालिम लिन्छन्। ‘तरकारी खेतीबारे वर्षेनी नयाँ/नयाँ विधि र प्रविधि भित्रिएको हुन्छ। रोग कीरा पनि नयाँ/नयाँ आउँछ,’ थापाले भने ‘त्यसैले मैले वर्षेनी तरकारी खेतीबारे तालिम लिइरहन्छु।’ केदार बुढाथोकी भन्ने एकजना टमाटर विशेषज्ञ डाक्टरसँग तालिम लिन उनी प्राय: काठमाडौं पुग्ने गरेको बताउँछन्। तीन दिन होस् वा एक हप्ता, जति दिनको तालिम भए पनि उनीहरू प्रयोगात्मक रूपमा तालिम गर्छन्।
‘डाक्टर बुढाथोकीकै फर्ममा गएर हामी काम गर्दै नयाँ रोग कीरा र प्रविधिबारे ज्ञान हासिल गर्छौं,’ उनले भने। त्यही ज्ञान, सीप र प्रविधिका कारण आफूले हालसम्म तरकारी खेतीबाट कहिलै घाटा बेहोर्नु नपरेको थापाको भनाइ छ। पहिलो लकडाउनका बेला धेरैको तरकारी विक्री नहुँदा खेतबारीमै कुहियो। तर,थापालाई लकडाउनले कुनै असर पारेन। उनले उत्पादन गरेको तरकारी सहजै विक्री भयो। सहर बजारबाट मानिसहरू उनको फार्म मै तरकारी खोज्न आए। ‘मेरो माल राम्रो थियो। राम्रो उत्पादन गरेपछि जस्ले पनि त्यो लान्छ,’ थापाले भने ‘बजारको कुनै समस्या छैन। खोसा खोस गर्न व्यापारी खेतबारीमै आइपुग्छन्।’
Facebook Comments