दुई वर्ष अघिसम्म बारीमै कुहिने बाजुराको स्याउ यस वर्ष जहाज चढेर नेपालगञ्ज र धनगढी पुगेको छ। बजार नपाएर बारीमै कुहिने चिन्ता बढेपछि स्वामिकार्तिक खापर गाउँपालिकामा फलेको ९० क्विन्टल स्याउ हवाइजहाजबाट नेपालगञ्ज र त्यहाँबाट ट्रकमा शुक्रबार धनगढी पुर्याइएको हो।
कृषि ज्ञान केन्द्र अन्तर्गतको नमूना कृषिगाउँ स्याउ कृषक समन्वय समितिले बाजुराको स्याउ यी दुई सहरमा पुर्याएको हो। कृषक समन्वय समितिका अध्यक्षसमेत रहेका किसान मनबहादुर रोकायाले सडक मार्गबाट बजारमा पुर्याउन नसकेपछि जहाजबाट स्याउ ल्याउनु परेको बताए।
भरिया, ट्रक र हवाई मार्ग हुँदै ल्याइएको बाजुराको स्याउ धनगढी बजारमा किलोको १५० रुपैयाँमा किन्न पाइन्छ। जबकी भारतबाट आएको स्याउलाई यहाँ किलोको ३ सयसम्म पर्छ।
९० क्विन्टल स्याउ धनगढीसम्म पुर्याउँदाको कथा
यस वर्ष स्वामिकार्तिक गाउँपालिकाले भदौ २० गतेपछि स्याउको मूल्य तोकेर टिप्ने अनुमति दियो। कृषि ज्ञान केन्द्र, गाउँपालिका र किसानले संयुक्त छलफल गरी ‘ए’ ग्रेडको ५०, ‘बी’ ग्रेडको ४० र ‘सी’ ग्रेडको स्याउको मूल्य प्रतिकिलो ३० रुपैयाँ मूल्य तोकेको स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताए।
समितिले नै किसानसँग स्याउ किन्यो। २५ गतेदेखि स्याउ टिप्न थाल्यो। तीन दिन लगाएर स्याउ टिपियो। टिप्ने र कार्टुनमा प्याक गर्नेलाई दैनिक एक हजार रूपैयाँ पारिश्रमिक दिएर बिक्रीका लागि तयार गरियो।
यसरी किसानका बारीबाट किनेको स्याउ बजारसम्म पुर्याउन लाग्ने ढुवानी खर्च त्यहाँको कृषि ज्ञान केन्द्रले बेहोरिदिन्छ। प्याकिङ गरेर तयार स्याउ भरियाले डोकोमा बोकेर वडा नम्बर ३ को ट्र्याक्टर आउन सक्ने ठाउँसम्म पुर्याए।
स्वामिकार्तिक गाउँपालिकाका अरू ४ वडाबाट पनि स्याउ बोकेर यसरी नै वडा नम्बर ३ मा ल्याइयो। ट्र्याक्टर भएसम्म ल्याउन भरियालाई प्रतिकिलो १० रुपैयाँ दिइएको थियो। ट्र्याक्टरले पिलुचौरसम्म स्याउ ल्यायो। त्यहाँबाट फेरि मान्छेले बोकेर कर्णालीको झोलुंगे पुल तारे। कुण्ड खोलासम्म मान्छेले नै बोकेर पुर्याए।त्यसपछि फेरि स्याउ ट्याक्टरमा हालेर कोल्टी विमानस्थल पुर्याइयो।
कृषक समन्वय समितिका अध्यक्ष रोकायाका अनुसार कोल्टी-धनगढी उडान सुरू गरेको समिट एअरले स्याउ लगिदिने कुरा थियो। समिटको धनगढी उडान ढिला हुने भयो। ‘दुई दिन विमानस्थलमै त्रिपाल हालेर स्याउ राख्नु पर्यो, चार जना कुरेर बस्यौं,’ रोकायाले भने।
त्यसपछि तारा एअरसँग नेपालगञ्जसम्म स्याउ लगिदिन उनीहरूले अुरोध गरे। प्रति केजी १५ रुपैयाँ भाडा लाग्ने गरी नेपालगन्जसम्म ताराको विमानमा ल्याउने कुरा भयो। एकै पटक ९० क्विन्टल स्याउ ल्याउन भने सकिएन।
‘आधा स्याउ र केही यात्रु पनि ल्याउने गरी कुरा भयो अनि ३ ट्रिप तारा एअरको र अर्को ३ ट्रिप समिट एअरको जहाजमा स्याउ नेपालगन्ज पुग्यो,’ रोकायाले भने। विमानस्थलबाट रिक्सामा स्याउ बजारसम्म लगियो। ‘नेपालगन्जमा केही स्याउ जुम्लाबाट र केही भारतबाट पनि आएकाले खासै बिकेन,’ रोकायाले भने।
नेपालगन्जबाट मिनिट्रकमा स्याउ धनगढीका लागि हिँड्यो। कोहलपुरमा केही व्यापारीले ११ क्विन्टलजति स्याउ उठाए। कैलालीको अत्तरियामा किसानले २८ क्विन्टलजति स्याउ किनेपछि समितिलाई राहत मिलेको रोकायाले बताए। ‘अत्तरियामा राम्रो साथ पाइयो, उहाँहरूले सक्दो स्याउ लगिदिनुभयो,’ रोकायाले भने।
Facebook Comments