मण्डनदेउपुर नगरपालिकाको ११ औँ अधिवेशनमा नगरप्रमुख टोक बहादुर वाईबाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
आज नगरप्रमुख वाइबाले आगामी आर्थिक वर्षका लागि नगर सभा सक्षम नीति र कार्यक्रम प्रस्तुत गर्नुभएको हो । नगरपालिकाले तय गरेको ‘देउपुर र मण्डनः कृषि र पर्यटन’ भन्ने नारालाई सार्थक दिने गरी नगरप्रमुख वाइबाले सभामा नीति र कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
नगर प्रमुख वाइबाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम अध्ययनका लागि नगर सभाका सदस्यहरुलाई दिइएको छ । अर्को बैठक असार १५ गते बस्नेछ ।
नगर सभामा नगरप्रमुख वाईबाले आर्थिक विकास तर्फ पहिलो नम्बरमा कृषि तथा पशुपालनलाई जोड दिनुभएको छ । यो शीर्षकमा १७ वटा कृषि तथा पशुपालनका बुँदा छन् । जहाँ एकीकृत कृषी विकास योजना तयार गर्नेदेखि कोल्ड स्टोर निर्माणका छन ।
पशु स्वास्थ्य क्लिनिक स्थापना गर्ने, रैथाने बालीको संरक्षणको लागि बिउ बैंक स्थापना गर्ने, बाली र पशुपंक्षी बिमालाई थप ब्यापक बनाउन ५० प्रतिशत अनुदान दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
पर्यटन तर्फ ९ वटा बुँदामा नीति र कार्यक्रम समावेश गरिएको छ । नगरभित्रको मुख्य पर्यटकीय क्षेत्रहरुमा इको पार्क, फन पार्क, पदमार्ग, जिपल्याण्ड, साइक्लिङ रुट, भाषिक तथा सांस्कृतिक संग्रहालय बनाउने भनिएको छ ।
कृषि पर्यटन, गाउँ पर्यटन, सांस्कृतिक र धार्मिक पर्यटन एवं होमस्टेको विकास गरिने नगरप्रमुख वाइबाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ । सुलिकोट, ब्रम्हायणी, देबीस्थान, नगरकोट, ठूलीचौर र चुरीथुम्कामा जिपलाइन सहितको साहसिक खेल पर्यटनको गतब्य बनाइनेछ ।
नगरपालिकाको पर्यटकीय सम्भब्यतालाई उजागर गर्न तथा पर्यटन प्रवर्धन गर्न मुख्य मुख्य पर्यटकीय स्थानहरुको विद्यूतीय एवं सञ्चार माध्यमबाट प्रचारप्रसार गरिने भनिएको छ । नगरकोटमा हिमालयन साइक्लिङ्ग रुट, सहित बृहत इको पर्यटन पार्क निर्माण गरिने बताइएको छ ।
Facebook Comments