धुलिखेल स्थित कान्छी माया तामाङ फाउण्डेसनले मकवनपुर जिल्लाको विकट बस्तीमा एकदिने सामान्य स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै खाद्यान्न वितरण गरेको छ । फाउण्डेसनले राक्सिराङ गाउँपालिका वडा नम्बर ८ को कुनाले लाच्यो, झ्यानझ्यारेमा स्वास्थ्य शिविर, खाद्यान्न, झुल, स्कुल जाने बालबालिकालाई र्याङकोट र किशोरीलाई प्याड वितरण गरेको हो ।
स्थानीय विनोद लामाको पहलमा विकट बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । शिविरमा कान्छी माया तामाङ पाउण्डेसनका अध्यक्ष डाक्टर दिल बहादुर तामाङ र डाक्टर प्रभाकर तिमल्सिनाले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।
सिटामोल समेत समयमै किन्न र खान नपाइने बस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरेर विकट बस्तीका जनतालाई सहयोग गरेको भन्दै स्थानीयले कान्छी माया तामाङ फाउण्डेसनलाई विशेष धन्यावद दिए ।
स्थानीय ७३ बर्षीय सार्कीमान तितुङले विकट बस्तीमा स्वास्थ्य शिविर पहिलो पटक राखेर स्वास्थ्य परीक्षण गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो । ‘निकै टाढाको बस्ती हो । सडकको राम्रो ब्यवस्था छैन । सामान्य औषधी किन्न पनि तीन चार घण्टा हिडेर चितवनको भण्डारासम्म पुग्नु पर्छ । गाउँमै स्वास्थ्य जाँच गर्न पाउँदा धेरै खुशी लाग्यो । अगामी दिनमा यस्तै शिविर बेला बेला राखिदिनुस् । तितुङले भन्नुभयो ।’
अर्का स्थानीय जय बहादुर तितुङले कान्छी माया तामाङ फाउण्डेसनको कामबाट आफु निकै खुशी र हर्षित भएको बताउनुभयो । ‘यो ठाउँमा निकै दुःख छ । बिरामी पर्दा धेरै कष्ट गरेर चितवनसम्म पुग्नुपर्ने अवस्था छ । गाउँको स्वास्थ्य चौकीमा भनेको बेला औषधी उपचार पाइदैँन । यो शिविरले यहाँका ज्येष्ठ नागरिक र बालबालिकालाई सबैभन्दा बढी फाइदा पुगेको छ । जय बहादुरले भन्नुभयो ।’
गाउँमा स्वास्थ्य शिविर र खाद्यान्न लैजान पहल गर्नु भएका विनोद लामाले आगामी दिनमा राक्सिराङ गाउँपालिकाको अन्य विकट वडाहरुमा पनि स्वास्थ्य शिविर सञ्चालनका लाागि पहल गर्ने बताउनुभयो । ‘हाम्रो ठाउँ विकट छ । यो ठाउँका दाजुभाई, दिदी बहिनीहरुलाई हामीले जति सक्छौँ, सहयोग गर्न जरुरी छ । आगामी दिनमा पनि यस्तै कामका लागि पहल गर्दै जानेछौँ । विनोद लामाले भन्नुभयो ।’
कान्छी माया तामाङ फाउण्डेसनका अध्यक्ष डाक्टर दिल बहादुर तामाङले देशको दुर्गम भेगमा गएर सेवा दिने फाउण्डेसनको उद्देश्य रहेको बताउनुभयो । ‘यो फाउण्डेसनको काम दुर्गम भेगमा पुगेर स्वास्थ्यको पहुँच बाहिर रहेका ब्यक्तिलाई सर्वसुलभ स्वास्थ्य सेवा दिने हो । रोग र भोकका कारण कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने हो । हामी त्यही उद्देश्य अनुसार काम गर्दै आइरहेका छौँ । डाक्टर तामाङले भन्नुभयो ।’
Facebook Comments